साताको अन्तिम कारोबार दिन नेप्से सामान्य घटेको छ। तर, यस दिन कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ।
बिहीबार करिब १५ अर्बको कारोबार हुँदा नेप्से १.२० अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार पनि नेप्सेमा सामान्य करेक्सन भएको थियो। यस दिन पनि नेप्सेले करेक्सनलाई नै निरन्तरता दिएको हो।
यस दिन नेप्से १.२० अंक घटेर २८१५.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ। यस दिन २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको कारोबारमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि गत सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो।
नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्। त्यसैगरी, यस दिन शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन्। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनको प्रभाव यस दिन शेयर बजारमा देखिएको हो।
यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.७२ प्रतिशत बढेको छ भने जलविद्युतको ४.५७ प्रतिशत, विकास बैंकको ३.४३ प्रतिशत र वित्तको २.२८ प्रतिशत बढेको छ। यता लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.०८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र चिलिमेको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment